आईजीपी नियुक्तिमा वरीयता मिचिएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा — OSNepal

आईजीपी नियुक्तिमा वरीयता मिचिएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा

LC (KTM) May 01, 2022 0

काठमाडौं १८ वैशाख । सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि आईजीपी हुने दौडमा रहेका दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत जाने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि पोखरेल र थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल सुरु गरेका हुन् ।

नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय कहिल्यै नभएको भन्दै अदालत जानेबारे छलफल भइरहेको बताइएको छ । आईजीपी नियुक्तिमा वरीयता मिचिएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा लागेका हुन् ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

गृह मन्त्रालयले समेत विश्वराजलाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको हो ।

आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मतभेद थियो । गृहमन्त्री खाँण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएका थिए । आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो । जहाँ शीर्ष नेताहरू पनि विभाजित देखिएका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत देखिएका थिए । गृहमन्त्रीको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर