काठमाडौं १८ वैशाख । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।
नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै अल्मुताइरीले रोहित चन्दसहित १० खेलाडी लाई कारवाही . नगर्न आग्रह गरेका हुन् ।
आफूविरुद्ध खेलाडीहरुले दिएको अभिव्यक्ति भने आपत्तीजनक भएको बताएका उनले पत्रमा भनेका छन् , ‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’
साथै, उनले खेलाडीहरुले आफ्नो अनुमति विना बन्द प्रशिक्षण छाडेकाले उनीहरुलाई एसिया कप छनोटको टिमबाट हटाएको पनि जानकारी दिएका छन् ।
विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।