काठमाडौं, १८ वैशाख :
नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही २१ वैशाखदेखि २७ वैशाखसम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिले सातै प्रदेशमा खुला सभा आयोजना गर्ने भएको छ ।
समितिले २१ गते प्रदेश १ को मोरङ, २२ गते मधेस प्रदेशको धनुषा, २३ गते बाग्मती प्रदेशको काठमाडौं, २४ गते गण्डकी प्रदेशको कास्की, २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, २६ गते कर्णाली प्रदेशको सुर्खेत र २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुलासभा गर्ने निर्णय शनिबार गरेको थियो ।
यो पनि : निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्याए ५० हजार पुरस्कार ! : निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।
३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।
आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ । यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्र्ने जनाएको थियो ।