भरतपुर ।
स्थानीय तहको निर्वाचनले यतिबेला मुलुकै माहोल गर्माएको छ । काठमाडैँ, पोखरासहित धेरैको नजर भरतपुर महानगरपालिकामा परेको छ ।
जहाँ पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेद्धवार रेनु दाहालका कारण पनि यो विषय चासो र चर्चामा परिरहेको छ ।
रेनुले कैयन राम्राकामहरु गरेको भनेर चर्चा भइरहेका बेला रेनुले राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरेको पाइएको छ । जाँदा जाँदै रेनुले चालेको यो कदमको स्थानीयले आलोचना गरेका छन् ।
हामीलाई प्राप्त माइन्युटमा चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँडेको प्रस्ट देखिन्छ ।
२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै रकम बाँडिएको छ ।
२१ जनाको विवरणमध्ये महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ ।
जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ । त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ ।