काठमाडौं १६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीकै हितका लागि भरतपुर माओवादी केन्द्रलाई छाडेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा प्रवक्ता महतले पार्टीको बृहत्तर र दीर्घकालीन हितका लागि भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाडेको बताएका हुन् ।
सत्ता गठवन्धनको सहमति विपरित भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले अरुलाई किन स्वीकार्ने भन्ने भनाइ राख्नु पनि स्वाभाविक भएको बताएका उनले भनेका छन्, ‘केन्द्रमा ५ दलीय गठबन्धन बनेपछि पार्टीको बृहत्तर र दीर्घकालीन हितका लागि केन्द्रीय नेतृत्वले लिएको निर्णय बुझिदिन हामीले अनुरोध गरेका छौं । मलाई लाग्छ, पौडेलजीले बुझ्नुहुन्छ ।’
एमालेले राजनीतिलाई मजाकको विषय बनाएको आरोप लगाएका बताएका उनले राजनीति गफ होइन, मनोरञ्जन पनि होइन । राजनीतिमा इमान, समर्पण र दूरदृष्टि चाहिन्छ । त्यसैले केपी ओलीको उन्ठेउलो पाराले देश चलाउन रोक्नु जरुरी भएको बताएका छन् ।
अधिकांश ठाउँमा जनाधारका आधारमा टिकट बाँडिएको बताएका उनले गठबन्धनका साथीहरुले जिद्दी गरेपछि केही ठाउँमा अपवाद निर्णय भएको समेत जनाएका छन् ।
मेयर रेणु दाहालले पाए पनि उपमेयर, वडाध्यक्षहरु कांग्रेसले नै पाएको जानकारी दिएका उनले एकअर्कालाई सहयोग गरेर जानु नै उपयुक्त हुने तर्क राखेका छन् ।