काठमाडौं १६ वैशाख । नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफु बागी उम्मेदवार नभएको स्पष्ट पारेका छन् ।
आफ्नो उम्मेदवारी रुख र चार तारे झन्डा विरुद्ध नभएको बताएका नेता पौडेलले भने,कांग्रेसका साथीहरुको समर्थनमा उठेको हुँ । त्यसैले उम्मेदवारी फिर्ता लिने कुनै कारण देख्दिनँ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा नेता पौडेलले यस्तो बताएका हुन् ।
भरतपुरमा मेयरका अरु ३२ जना स्वतन्त्र उम्मेदवार भएको भन्दै उनले अरुले उम्मेदवार दिँदा केहि नहुने मैले उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकारमा कसरी हलचल हुन्छ भनेका छन् ।
‘मेरो उम्मेदवारीको गठबन्धनसँग कुनै साइनो छैन । हामीले त्यति कमजोर भएर सोच्नु हुन्न । किनभने त्यसको विधि, पद्धति र प्रक्रियामा म संलग्न छैन ।’ उनले भने ।
आफुले नागरिक हक प्रयोग गर्न किन नपाउने भन्दै उनले उक्त कार्यक्रममा अघि भनेका छन् , ‘सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्डलगायत गृहमन्त्री बालकृष्ण खाँड, उमेश श्रेष्ठलाई मैले सहयोग गर्नुस् सके, नसके म बबुरोलाई संवैधानिक हक प्रयोग गर्दा नरोक्नुस् भनेको छु । मैले नागरिक अधिकार प्रयोग गर्न किन नपाउने रु मैले छाड्न मिल्ने, रेणु दाहालले किन नमिल्ने रु उहाँ त बहिनी, छोरी सरहको मान्छे हो । उहाँको समय छ । मलाई छाडिदिए हुन्छ नि । मलाई गलाउने, फकाउने कुरा छैन ।’
सारा चितवन आफ्नो पछाडी घुमेको दावी गरेका उनले आफुले हँसिया, हथौडामा भोट हाल्दिनँ भन्दा कारबाही गर्न मिल्छ भन्दै प्रश्न समेत गरेका छन् ।
‘ म चितवन कांग्रेसको भावनाका निम्ति प्रतीक मात्र हुँ । म फिर्ता लिन्नँ । बरु म कारबाही भोग्छु । त्यो मैले सहनुपर्छ । राजीनामा दिनु परे पनि दिन्छु । एक्लो बृहस्पति हुँला तर म देशभरका कांग्रेसका लागि दीप जलाएर बस्छु ।’