काठमाडौँ, १३ वैशाख- नेपाली कांग्रेसले पुराना पाटीपौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्विक सम्पदालाई सोही स्वरुपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणापत्रमा धार्मिक धरोहरको अभिलेखीकरण गरी संरक्षण र संवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।
मौलिक कला र संस्कृति जगेर्ना गर्दै विश्वसामु उजागर गर्ने, गीत सङ्गीतसम्बन्धी तालिम सञ्चालन, चाड, पर्व, उत्सव, मेला, सङ्गीत र नाचको जगेर्ना गर्न स्थानीय युवालाई तालिम दिँदै जागरणका कार्यक्रम गरिने भएको छ । सबै जातजातिका परम्परागत जात्रा, पर्वको संरक्षण, सञ्चालन र व्यवस्थापन, विभिन्न समुदायमा प्रचलित हिंसा, कुरीति र विभेदकारी प्रथालाई बन्देज गरिने, संस्कृति, भाषा, साहित्य, चालचलन, गीत, सङ्गीत, रहनसहन, वाङ्मय, स्थानीय दर्शनको सूचीकरण, अध्ययन तथा अनुसन्धान गरी संरक्षण तथा प्रवद्र्धन गरिने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्न चाडपर्व, उत्सव, मेला तथा सङ्गीतको जगेर्नालाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ ।
स्थानीय तहको भाषा संरक्षण गरिने
सम्बन्धित स्थानीय तहको भाषा साहित्य र कलाको संरक्षण गर्ने कांग्रेसको प्रतिबद्धता छ । नेपालमा बोलिने सबै भाषा, लिपी र अभिलेखबारे अध्ययन अनुसन्धान र अभिलेखीकरण गरिने पार्टीको कार्यक्रम छ । भाषा, संस्कार र संस्कृति, वेषभूषा, ललितकला र ऐतिहासिक पुरातात्विक हिसाबले विविधता भएको मुलुक भएकाले यसको संरक्षणमा स्थानीय सरकारले काम गर्ने कार्यक्रम कांग्रेसले ल्याएको हो ।यस्ता विषयमा नीति, कानुन, मापदण्ड बनाइ लागू गर्न तहगत सरकारलाई मार्गदर्शन गरिने घोषणापत्रमा उल्लेख छ ।