काठमाडौं १३ वैशाख । स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले नाम मनोनयन गर्न दिएको दुई दिनको समयमा एक लाख ४१ हजार ४६८ जनाले आफ्नो उम्मेदवार दर्ता गराएका छन् ।
आयोगले दिएको पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा ३६ हजार २७ जनाले उम्मेदवार दिएका छन् ।
त्यसैगरी, बागमती प्रदेशमा २३ हजार ६५४ , प्रदेश १ मा २२ हजार १९४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जना र गण्डकी प्रदेशमा १२ हजार ३१४ जनाको उम्मेदवारी परेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ३५ हजार २२१ पदको लागि एक लाख ४१ हजार भन्दा बढीले उम्मेद वारी दिएका छन् । यो संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ ।
महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८जनाले उम्मेदवारी दिएका छन् ।
उपमेयरमा २०३६, अध्यक्षमा ३३०६ , उपाध्यक्षमा २३४३ , वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।