काठमाडौं १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणा पत्रमाथि कडा आलोचना गरेका छन् ।
मंगलबार २३ औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको चुनावी घोषणा पत्र पागलहरूको प्रलाप भएको टिप्पणी गरेका छन् ।
कांग्रेसको घोषणा पत्रमा नेकपा एमाले माथि गालीगलौज गरिएको भन्दै ओलीले यस्तो बताएका हुन् ।
कांग्रेसको त्यो राजनीतिक दस्तावेज नभइ पागलहरूको प्रलाप भएको दावी गरेका उनले भने, ‘घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको रु पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’
कांग्रेसले कतै जित्न सक्ने अवस्थामा नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको वैशाखी टेकेर अघि बढ्न खाजेको आरोप समेत ओलीले लगाएका छन् ।
कांग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्नेमात्र भएको तर्क दिएका ओलीले गठबन्धनको एकताको आधार कुनै राजनीतिक नभएर एमालेको आरिसमात्र रहेको बताएका छन् ।