दक्षिण कोरियाबाट काभ्रेका लागि स्वास्थ्य सामग्री हस्तान्तरण ! — OSNepal

दक्षिण कोरियाबाट काभ्रेका लागि स्वास्थ्य सामग्री हस्तान्तरण !

LC (KTM) June 11, 2021 0

बिमल सिं लामा- काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको पहलमा संकलित सहयोग रकम रु ४ लाख २५ हजार पाँच सय बराबरको स्वास्थ सामाग्रीहरु जिल्ला प्रशासन कार्यलय तथा संकट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । बिहिवार (जुन 10) जिल्ला प्रशासन कार्यलयको प्राङ्गणमा एक कार्यक्रम गरि प्रमुख जिल्ला अधिकारी(सिडिओ) एवं जिल्ला संकट व्यवस्थापन संयोजक शिवराम पोखरेल सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा लगायतको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सहयोग सामग्रीहरुमा २६ वटा अक्सिजन सिलिन्डर, पि.पि.ई सेट २६ थान र मास्क ५२ प्याक रहेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै सिडिओ पोखरेलले बिदेशमा पुगेर पनि आफ्नो ठाउँमा परेको समस्यालाई बुझेर यसरी सहयोग गरेकोमा धन्यवाद दिएका थिए । “नेपालमा अहिले संक्रमण छ । त्यसमा पनि महामारी र धान्नै नसक्ने गरि संकटको अवस्था भएको बेलामा यसरी सहयोग गरेकोमा कोरियामा रहेका जिल्ला बासी सम्पुर्णमा हार्दिक धन्यवाद !” पोखरेलले भने । साथै उपलव्ध सहयोग सामग्रीहरु सबै स्थानीय तहहरुमा आवस्यकताको आधारमा समान रुपले वितरण गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सिलिन्डर लगायतको सामग्रीहरुको खरिदका लागि नेपालमा रहेका संस्थाका संरक्षक सल्लाहकार यम श्रेष्ठ र सचिब चिरञ्जीवी तिमल्सिना लगायतले सहयोग गरेका थिए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा भने पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकारहरु रामकृष्ण आचार्य, श्रमदिप चौलागाईं, तपस तामाङ लगायत संस्थाका शुभचिन्तक बिजय बस्नेत, विमल तामाङ र साङ्गे छिरिङ्ग लामा लगायतको सहभागीता रहेको थियो ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको पहलमा यहाँ रहेका सम्पुर्ण काभ्रेलीहरुमा सहयोगका लागि आव्हान गरेका थिए । आफ्नो मातृभुमीलाई परेको पिडालाई अलिकति भएपनि मल लगाउन सकिन्छ कि भन्ने हेतुले सहयोगका लागि संस्थागत पहल गरेको अध्यक्ष सानू लामाले फोनिज कोरियालाई बताएका छन् । “करिब २ हप्ता मात्र चलाएको यस अभियानमा संस्थाको सम्पुर्ण पदाधिकारी, संरक्षक, सल्लाहकार र कोरियामा रहेका सम्पुर्ण काभ्रेली र गैर काभ्रेलीले समेत सक्रिय सहभागीता जनाएकोमा मेरो ब्यक्तिगत र संस्थाको तर्फबाट सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।’ लामाले भने । संकलित रकमबाट जिल्लाको १३ वटै स्थानीय निकायहरुमा ४० लिटरको २/२ वटा अक्सिजन सिलिन्डर, पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) २/२ थान र केही मास्क पुग्नेगरी खरिद गरिएको लामाले बताए । साथै नेपालमा रहेर यस अभियानलाई अन्तिम रुप दिन महत्त्वपूर्ण योगदान दिनुहुने सम्पुर्णलाई पनि अध्यक्ष लामाले धन्यवाद व्यक्त गरेका छन् ।

सन २०११ मा स्थापना भएको यस संस्थाले नेपालमा विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहयोग गर्दै आएको छ । संस्थाले कोरोनाको पहिलो लहरको समयमा पनि सहयोग गरेको थियो । पहिलो लहरको कोरोना महामारिमा सस्थाको तर्फबाट जिल्लाको सबै स्थानीय निकायहरुमा खोलिएको क्वारेन्टाइन तथा आइसुलेसनका लागि खाने पानीको ब्यवस्थापन गर्न २० वटा पानी ट्याङ्कीको व्यवस्था गरिएको थियो । उक्त सहयोग सामग्री भने धुलिखेल नगरपालिकामार्फत सबै स्थानीय तहहरलाई आवस्यकताको आधारमा हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर