आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लक्का जवान’ निर्माण भएको २ बर्ष पछि बल्ल हलहरुमा लाग्ने भएको छ । लक्का जवान हाँस्य बिधामा २ बर्ष अघि नै निर्माण भए पनि कोरोनाका कारण रिलिज हुन सकेको थिएन । वैशाख २३ गतेदेखि देशभर प्रदर्शनमा आउने यस चलचित्रको युनिट पुर्वमा प्रचार प्रसारको लागि आएको छ ।
दक्षिण भारतीय चलचित्रले नेपालको फिल्मी बजार खाईरहेको बेला फिल्मको युनिट भने धमाधम प्रचार प्रसारमा जुटिरहेको छ । यसैक्रममा दमकमा फिल्मका निर्देशक शिबहरी पौड्याल र कार्यकारी निर्माता किरण केसीको टोलीले छोटो पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा फिल्मका निर्देशक तथा कलाकार शिबहरी पौड्यालले फिल्म २ बर्ष अघि बने पनि यसको कथा २० बर्ष पछाडी सम्म बिक्ने खालको रहेको बताए ।
उनले यो फिल्म माटो सुहाउँदो अग्र्यानिक बनेको बताउँदै नेपाली फिल्मलाई माया गरिदिन दर्शकहरु संग आग्रह गरे । आफ्नो निर्देशनको डेब्यु फिल्म रहेकोले मेहनत राम्रै गरेको उनको भनाई थियो । त्यस्तै चलचित्रका कार्यकारी निर्माता एवं कलाकार किरण केसीले ‘लक्का जवान’ एक पारिवारिक कथामा आधारीत चलचित्र भएकाले सबैलाई परिवारसँग बसेर हेर्न आग्रह गरे। धेरै हाँस्य कलाकारहरु रहेकाले फिल्ममा आफ्नै किसिमको स्वाद पाउन सकिने पनि बताए ।
पछिल्लो समय दक्षिण भारतीय चलचित्रले नेपाली सिने बजार खाईरहेको कुरालाई इंगित गर्दै उनले हिन्दी फिल्मको लगानी देखी लिएर प्रबिधि सम्मका कुरा अत्यन्तै ठुलो हुने भएकोले प्रतिष्पर्धा गर्न नसके पनि नेपाली फिल्मलाई माया गरिदिन दर्शक संग अनुरोध गरे । ध्रुव वन्तको प्रस्तुति रहेको यस फिल्मको निर्माण अनुसुया श्रेष्ठ वन्तले गर्नुभएको छ । त्यस्तै कार्यकारी निर्माताहरुमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी रहेका छन् ।
चलचित्रमा सरोज खनाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, ओजस्वी थापा, स्व. जयनन्द लामा, मनिषा श्रेष्ठ, अनुपमा भण्डारी, सविता गुरुङ, विमला गिरी, अञ्जु महर्जन, निर्मल शर्मा, विनोद भट्टराई र रमेश केसीको अभिनय रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहेको छ ।