यतिबेला राजनितीक दलहरुलाई स्थानीय निकायको निर्वाचनको चटारो परेको छ । ठुला दल भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र तथा नेकपा एस लाई चुनावले छोपेको छ । यसैक्रममा माधव नेपाल नेतृत्वको नेकपा एसले त आफ्नो चुनावी घोषणा पत्र नै सार्वजनिक गरि सकेको छ ।
अब केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले पनि चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको ७४औं स्थापना दिवसको अवसरमा शुक्रबार एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । रिजालका अनुसार शुक्रबार नै थापाथलीमा रहेको पार्टी कार्यालय औपचारिकरुपमा स्थानान्तर हुनेछ। पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुलसी लाल स्मृति भवनमा सर्नेछ।
सोही स्थान बाट भव्य कार्यक्रम आयोजना गरी घोषणा पत्र सार्वजनिक गर्ने एमालेको तयारी रहेको छ। त्यस्तै सोहि कार्यक्रमको अवसर पारेर कम्युनिस्ट यद्धाहरुलाई सम्मान गरिने पनि नेता रिजालले जानकारी दिए । १७ जना कम्युनिस्ट आन्दोलनका योद्धाहरुलाई सम्मान गर्ने उक्त कार्यक्रममा पार्टी प्रवेशको कार्यक्रमसमेत तय भएको रिजालले बताए।