याङ्ग्री र लार्के खोलाबाट आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन — OSNepal

याङ्ग्री र लार्के खोलाबाट आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

LC (KTM) June 10, 2021 0

काठमाडौँ, २७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि याङ्ग्री र लार्के खोलाबाट पनि खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिनुभएको हो । हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी ल्याउन सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ ।

प्रधानमन्त्री ओलीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिनु भयो । राजधानीबासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । खानेपानी मन्त्रालयका अनुसार अब सुरुङलाई पुरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर