काठमाडौ ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि सुधारलाई शंकाको दृष्टिले हेर्ने हो भने कुनै पनि कुरा सहजै पचाउन नसकिने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै थपलियाले नेकपा एमालेलाई लक्षित गर्दै यस्तो बताएका हुन् । स्थानीय तह निर्वाचनमा सुधारका काम गर्न खोज्दा शंका गरिएको बताएका उनले नयाँ कुरालाई स्थापित गर्न असहज भएको बताए ।
‘मनोनयन गर्न दुई दिन दिने र प्रचारप्रसारका लागि १५ दिनबाट घटाएर ११ दिनमा झारेका छौँ । हामीले जे नयाँ कुरा गर्छौँ, स्थापित गर्न गाह्रो, हम्मेहम्मे पर्दो रहेछ । कहिलेकाहीँ गलत गरेछौँ कि भन्ने लाग्दो रहेछ । तर, साथ–सहयोग सबैतिरबाट छ । तपाईंहरूले समाचार सम्प्रेषण गर्दा न्यायोचित ढंगबाट गरिदिनुहुन अनुरोध गर्दछु ।’ उनले भने ।
साथै आयोगले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेका मतदातालाई सहभागी हुन दिने जनाएको छ ।