काठमाडौंं ५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठवन्धन गर्नुपर्छ भनेर लाद्न नहुने बताएका छन् । तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्ने भन्दै आएकाले माथिल्लो तह गठबन्धन गर्नुपर्छ भनेर निर्णय लाद्न नहुने महामन्त्री थापाले बताएका हुन् ।
पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम आउन सक्ने भन्दै यस्तो बताएका हुन् ।
निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुने बताएका थापाले तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक नभएको दावी गरेका छन् ।
‘कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्छ,’ उनले भने, ‘जितेर आएँ, जे पनि गर्छु भनेर हुँदैन । म एक्लै हुँ भनेर भन्न पाइँदैन ‘।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाँच दलीय गठवन्धनमा असहमति हुँदै आएको छ ।