तनहुँ :
नायक पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। कर णीको अभियोग लगाएकी नाबालिकाले जिल्ला अदालतमा बयान फेरेकी छन्।
आइतबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। ‘यसअघि जाहेरीमा जुन कुराहरु भएको भनिएको थियो । त्यो कुरा केही नभएको भनिएको छ। जिष्ट कुरा नै यही हो,’ उनले भने।
कुँवरका अनुसार आज नाबालिकाको मात्रै बकपत्र लिइएको छ। ‘आज २ बजेतिर ढिला गरी सुरु भयो, आज उनकै बकपत्र मात्र लिइएको हो। अरुको बकपत्र भोलि हुन्छ,’ उनले भने ।
जिल्ला सरकारी वकिल कार्यालय प्रमुख रामचन्द्र शर्माले बकपत्रमा पीडित पक्षले हस्ताक्षर गरेको बताए। ‘अलि अलि बयान फरक परे पनि जाहेरी व्यहोराहरु अनुसन्धान मुचुल्का, उसको स्वास्थ्य परीक्षण, सामाजिक सञ्जालमा भएका वार्ताहरु, अडियो भिडियोबाट फैसला हुन्छ। यथेस्ट प्रमाण छन्। खासै फरक पर्दैन,’ शर्माले दाबी गरे।
सरकारी वकिलले खासै फरक नपर्ने जिकिर गरेपछि स्वतन्त्र कानुन व्यवसायीहरु भने नाबालिगको हकमा संरक्षकको बयानले महत्व राख्ने बताउँछन्। ‘
‘यो मुद्दा टेक्निकल ग्राउण्ड के हो भने बाबुले जाहेरी दिएको छ। किशोरीले जाहेरी दिने, बयान फेर्नेसँग सरोकार छैन। किनभने यो अण्डर ऐज (उमेर नपुगेको) छ। यदि संरक्षक (बाबु) राखेर बकपत्र गरेको छ भने मुद्दामा पल शाहलाई धेरै फाइदा हुन्छ,’ मुद्दाबारे जानकार एक अधिवक्ताले भने, ‘बाबुले नै बयान फेरेको हो भने मुद्दा धेरै कमजोर हुन्छ।’
अर्का अधिवक्ताले यो घटना वर्षदिन अगाडिको भएकाले अरु प्रमाणले खासै अर्थ नराख्ने जिकिर गर्छन्। ‘अरु त्यस्तो छैन। किनभने यो एक वर्षअघिको घटना हो। न टेस्ट हुन्छ, न केही हुन्छ। भनाइका आधारमा मात्रै हो। भनाइ नै चेञ्ज गरेपछि महत्व नै रहेन। किटानी जाहेरी नै महत्वपूर्ण हो। त्यसबाट नै पछि हटेपछि अब केही बाँकी रहेन,’ उनले भने।
यतिखेर उठिरहेको प्रश्न हो, ‘पीडित नाबालिगले अचानक किन बदलिन् बयान?’
नेपाल समयका अनुसार केही दिनअघि मात्रै उनले काठमाडौंमा रहेका एक गायकलाई फोन गर्दै जिज्ञासा राखेकी थिइन्, ‘यो मुद्दा कसरी मिलाउने होला दादा? के गर्दा मिल्छ होला? म त पललाई माया गर्थें, हतकडी लाएर जेल पुगेको दृश्य देख्नै सकिनँ।’
पछिल्लो समय यसरी जिज्ञासा राख्नु र काठमाडौंमा उनी निकट संगीतकर्मीसँग फोन गर्दै आँशु झार्नुले पनि उनी ‘होस्टायल’ हुने सम्भावनाको संकेत त गरेको थियो। तर पनि पीडितको पक्षबाट न्यायका लागि लडिरहेकाहरुलाई बयान फेर्लिन् भन्ने चाँहि लागेको थिएन। कारण, उनीहरू यो बीचमा पलले कारागारभित्रैबाट रच्न सक्ने ‘डिजाइन’बारे सचेत थिएनन्।
पल निकट स्रोतका अनुसार पीडितले कारागारभित्र रहेका पलबाट बिहेको आश्वासन पाएपछि बयान बदलेकी हुन्। ‘खासमा हिरासतदेखि कारागारसम्म पुग्दा पल पनि निकै कमजोर भइसकेका थिए,’ पल निकट श्रोत भन्छ, ‘कारागारमा भेट्न जाने जसलाई पनि ‘मलाई जसरी पनि यहाँबाट निकाल्नुपर्यो’ भन्थे।’
पलले आफ्नो रिहाइका लागि यो मुद्दामा महँगो रकम तिरेर महँगा कानुन व्यवसायी ‘हायर’ नगरेका पनि होइनन्। तर तनहुँ र पूर्व नवलपरासी दुवैतिरको अदालतको थुनछेक बहसले उनलाई धरौटीमा छाड्ने आदेश पनि नआएपछि उनीहरू थाके। बुझिएअनुसार यो बीचमा पल पक्षधरहरू वरिष्ठ अधिवक्तादेखि विभिन्न न्यायाधीशसमक्ष केस ‘सल्टाउन’ सकिन्छ भनेर परामर्श लिन पुगेका थिए।
पलका अधिवक्तादेखि लिएर सबैले पललाई एउटै विकल्प सुनाए, ‘अब यो मुद्दाबाट उम्कने हो भने पीडितलाई बयान फेर्न लगाउनुको विकल्प छैन। जसरी पनि उनलाई फकाउनै पर्छ।’
पललाई थाहा थियो, पीडित नाबालिगले उनलाई गहिरो प्रेम गर्थिन्। सरकारी वकिलसम्म बयान दिँदा पनि उनले यो भनेकी थिइन्। विश्वस्त स्रोतका अनुसार पलले आफू उम्किने कुनै विकल्प नपाएपछि पीडित नाबालिगको बयान फेराउन जेलबाट निस्किएपछि बिहे गर्ने आश्वासन नै दिएका छन्।
‘पीडितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करिअर बर्बाद गर्नुभन्दा मलाई बचाऊ। म बिहे गर्छु भनेर प्रस्ताव पठाएपछि उनी पग्लिएकी हुन्,’ पल निकट स्रोतले भन्यो, ‘पलले त पहिले पनि यस्तो प्रस्ताव राखेका थिए तर यसपटक पलका बाआमा नै यो प्रस्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सहमति भएको हो। पीडितलाई जाहेरी दिन सहयोग गर्नेहरूलाई दोष देखाएर पललाई जोगाउन रणनीति त्यसपछि रचिएको हो।’
पीडितले बयान फेरेपछि आइतबार दिनभरजसो अदालत परिसरमा पल शाहका पक्षधर मुस्कानसहित खुशीयाली मनाइरहेका थिए, पीडितको पक्षबाट पुगेकी एक अभियन्ताले भनिन्।