जग्गा भाडामा लिएर काउली खेतीमा मनग्य आम्दानी गर्दै आएका किसान ब्याडमै विरुवा फुलेपछि तनावमा — OSNepal

जग्गा भाडामा लिएर काउली खेतीमा मनग्य आम्दानी गर्दै आएका किसान ब्याडमै विरुवा फुलेपछि तनावमा

LC (KTM) June 10, 2021 0

टिस्टुङ, २७ जेठ – बेमौसमी तरकारी उत्पादनमा प्रसिद्ध मकवानपुरको थाहा नगरपालिकामा किसानहरुले व्यावसायिक खेतीका लागि काउलीको ब्याड राखेकोमा ब्याडमै फुलेको छ । ब्याडमा नफुलेका काउली रोपिएको केही दिनमै फुलेका छन् । यसले कृषकहरुमा चिन्ता थपिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ की मीना पाख्रिनले अन्दाजी २ रोपनी जग्गा भाडामा लिएर काउली खेती गर्नुभएको थियो । रोपेको दुई सातामै काउली फुल्यो । तर निकै सानो फुलेर बिक्रीका लागि योग्य नभएपछि उहाँले काउली फालेर उक्त जग्गामा मकै रोप्नुभयो ।

पाख्रिनजस्तै थाहा नगरपालिका– १का सुदिप थोकर र वडा नम्बर २ का श्रीकृष्ण श्रेष्ठको पनि उस्तै हालत भयो । एक महिनाअघि असिनाले आलु खेती सखाप पारेर आक्रान्त बनेका कृषकहरु व्याडबाट रोप्न तयार भएको काउली ब्याडमै फुलेपछि थप चिन्तित बनेका छन् ।अहिले थाहा नगरका झण्डै सय बढी किसानहरुले खेतबारीमा लगाएको काउली समय नपुग्दै फुलेको छ । फुलेको काउलीको वजन १०० ग्रामसम्म पनि नभएको पीडित कृषक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा राम्रोसँग फुल्दा एउटै बोटबाट दुई किलोग्रामसम्म फुल्ने गरेको उहाँको भनाइ रहेको छ ।

थाहा नगरपालिकामा जापानीज कम्पनीको ह्वाइट टप र सुपर ह्वाइट टप जातको काउली व्याडमै फुलेका हुन् । यी जातका काउलीलाई पानी धेरै चाहिने भएकोले अहिले सुख्खा समयमा रोपिएकोले समय नपुग्दै फुलेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारी बताउनुहुन्छ । खडेरी, छिप्पिएको बेर्ना वा नाइट्रोजनको कमीले समय नपुग्दै फुल्न सक्ने उहाँको भनाइ छ । नगर कृषि शाखा प्रमुख तिवारीले पहिलो चरणमा लगाइएका काउली समय नपुग्दै फुलेको कृषकहरुबाट गुनासो आएको बताउनुभयो । ह्वाइट टप र सुपर ह्वाइट टप जातका काउली वर्षा याममा लगाउन उपयुक्त हुने कृषि प्रमुख तिवारीले बताउनुभयो । बीउको गुणस्तरीयतामै समस्याका कारण ब्याडमै वा समय नपुग्दै काउली फुलेको हुन सक्ने आँकलन भइरहेको बेला उहाँले बीउमा भने समस्या नदेखिएको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर