चुनावमा भागबण्डा नमिले पछि गठबन्धनमा दरार देखिन सुरु गरेको छ । सत्ता सञ्चालन मिलेरै गरे पनि स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा चुनावी तालमेल नहुने स्पष्ट संकेत देखिएको छ । चुनावी तालमेललाई लिएर सत्ता गठबन्धन जटिल संकटतिर धकेलिरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतवार आन्तरिक सर्कुलर जारी गरेका छन्।
७५३ स्थानीय निकायमा भागबण्डा गर्ने क्रममा गठबन्धनका दुई दलले आफूहरुलाई हेपेको गुनासो गरिरहेका बेला अध्यक्ष नेपालले आन्तरिक सर्कुलर जारी गर्दै कांग्रेस बाहेकको गठबन्धन तयारी थाल्न निर्देशन दिएका छन्। स्थानीय तह निर्वाचनका लागि देशकै मुटुको रुपमा रहेका महानगर काठमाडौं या पोखरा महानगरपालिकामध्ये एक माग गरे पनि पाउने छाँट नदेखिए पछि समाजवादीले बेग्लै तयारी थालेको हो ।
नेकपा एसले आइतवार जारी गरेको आन्तरिक सर्कुलरमा अध्यक्ष नेपालले प्रमुख सत्तारुढ कांग्रेसले साझेदार दललाई होच्याउने गरी भागबण्डा गर्न चाहेको निष्कर्ष निकालेको छ । त्यसैले अलग्गै गठबन्धनका लागि तयार हुनुपर्ने अध्यक्ष नेपालले बताएका छन्। अध्यक्ष नेपालले पार्टीका केन्द्रीय सदस्यहरुसहित शीर्ष नेतृत्व तहमा पठाएको सर्कुलरमा गठबन्धनको कांग्रेससँगको सहयात्रा सहज नभएको बताएका हुन् । चुनाव अघि गठबन्धनमा भाग नमिल्दा पहिरो जान सुरु गरिसकेको छ ।