हेटौँडा, ३ वैशाखःनिर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तोकिएबमोजिमको हदैसम्मको कारबाही हुने बताउनुभएको छ । निर्वाचन आयोगले आज हेटौँडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताउनुभयो ।
आयुक्त भण्डारीले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखीकरण दिइसकेको उल्लेख गर्दै निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारमा भर नपर्न सबैसँग आग्रह गर्नुभयो । “लोककतन्त्रको सुन्दर पक्ष निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुन्छ”, उहाँले भन्नुभयो । आयुक्त भण्डारीले आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको छ, यसको उल्लङ्घन गर्ने जो सुकैलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाली सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भव्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि यहाँका सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचनमा विगतमा कारबाही कम भएको देखिए पनि यसपटक यस्तो नहुने भन्दै आचारसंहिता पालना गर्न लगाउन पनि मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यममा आएका समाचारलाई आयोगले सूचनाका रुपमा लिनेसमेत उहाँको भनाइ छ ।
प्रेस काउन्सिलका सदस्य चिरन्जीवी मास्केले निर्वाचनको समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम, फेक समाचार, सूचना कसरी चिन्ने र प्रकाशन÷प्रसारणमा रोक लगाउनाका साथै काउन्सिलबाट हुने कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनील खड्काले निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिङका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल, आयोगका शाखा अधिकृत तीर्थराज चापागार्इं, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले स्थानीय तहको निर्वाचनलाई सबै मिलेर निष्पक्ष र भव्य रुपमा सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो । (रासस)