काठमाडौं १ वैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका छन् ।
नेता कोइरालाले नयाँ वर्षको शुभकामना दिँदै कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र नागरिकको मुहारमा खुशी ल्याउनेमा कांग्रेस केन्द्रित हुने बताएका छन् ।
‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ’उनले भनेका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै नेता कोइरालाले आफ्नो व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग चुनावमा लड्ने बताएका छन् ।
‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो’ उनले अघि भनेका छन् ।