काठमाडौ ३० चैत । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को टोलीले भेटवार्ता गरेको गरेको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छ ।
भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे छलफल भएको बताइएको छ ।
भेटवार्तामा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी भएका थिए ।
भेटमा मुख्यगरी सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा र विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे छलफल भएको बताइएको छ । तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको पनि छलफलमा देउवाले बताएका छन् ।