काठमाडौं ३० चैत । नेकपा माओवादी केन्द्र पर्साका कार्यकर्ताले वीरगञ्जको राधेमाईस्थित आफ्नै कार्यालयमा तोडफोड गरेका छन् ।
पार्टीको जिल्ला नेतृत्वले स्थानीय तह निर्वाचनको लागि गरेको गतिविधिलाई लिएर असन्तुष्ट बनेका कार्यकर्ताले कार्यलय तोडफोड गरेका हुन् ।
पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका उनीहरु ध्यानाकर्षण पत्र बुझाउन कार्यलय जाँदा विवाद भएपछि आक्रोशमा आएका उनीहरु तोडफोडमा उत्रिएका हुन् ।
तोडफोडपछि उनीहरुले कार्यालयमा ‘चन्दा खोरी बन्द गर’ लेखेको पोस्ट टाँस्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चन्दा असुली गरेर पार्टीलाई वदनाम आरोप समेत लगाएका उनीहरुले पार्टीको जिल्ला संयोजक र सचिवको राजिनामा माग समेत गरेका छन् ।
तोडफोडको क्रममा पार्टी कार्यालयमा भएका टेबल, कुर्सी, सोफालगायतका सामग्रीमा क्षति पुगेको तथा अनैतिक र अराजक गतिविधि गरिएको माओवादीले जनाएको छ ।
अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेको बताइएको छ ।