काठमाडौं, ३० चैत-नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएकाे छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् । निर्वाचनमा विजयी भएपश्चात भने नेपाल परिवार दलमै आबद्ध हुनेछन् ।
देशभरका तालमेल सम्भव पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेद्वार उठाउने सहमति भएको छ । त्यस्तै नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरुलाई नेकपा एमालेले सघाउने सहमति भएको छ ।
नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने समेत सहमति भएको छ ।
जिल्ला तहमा भएको छलफल र सहमतिका सम्बन्धमा आ-आफ्ना प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिवेदन प्रस्तुत गर्ने समेत सहमति दुई पार्टीले गरेका छन् ।
स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालका उम्मेद्वारले पनि सूर्य चिन्ह लिएरै चुनाव लड्ने छन् । राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सोही अनुसार राप्रपा नेपालका उम्मेद्वारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् ।