अधिकार सम्पन्न तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी — OSNepal

अधिकार सम्पन्न तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

LC (KTM) April 12, 2022 0

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनर्संरचना गरी अधिकारसम्पन्न संस्थाका रुपमा विकास गरिने बताउनुभयो ।

प्रतिष्ठानमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले एक दर्जन बढी सरकारी निकायले उस्तै प्रकारको तालिम कार्यक्रम संचालन गरेपनि परिणाममुखी नभएकोले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको तालिम प्रदान गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि तयारी अघि बढाइएको बताउनुभयो ।

मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो । ठुलो संख्यामा श्रमशक्तीलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणालि विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आवद्ध गराउने मन्त्रालयको योजना छ । मन्त्री श्रेष्ठले प्रतिष्ठानको स्तरोन्नती गरी सीप परीक्षण तथा प्रमाणिकरणको व्यवस्था समेत गरिने बताउनुभयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ती उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनिय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सचिव अर्यालले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर