शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो हार व्यहोरेको छ ।मंगलबार मलेसिया-११ सँग पुलिस क्लब १ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । सिदार्थनगर क्रिकेट रंगशालामा भएको खेलमा १ सय रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
उसका नज्रिल रहमानले २७, शर्बिं मुनियन्डीले १८ र सेईद अजिजले १३ रन बनाए । नेपाल पुलिसका पवन सरार्फलव ३ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिस क्लबले १९ ओभर ४ बलमा ९९ रन बनाउँदा अलआउट भयो । उसका प्रेम तामाङले अविजित २८ र पवन सरार्फले २५ रन जोडे । पुलिसलाई सस्तैमा समेट्न मलेसियाका सेईद अजिजले ५ विकेट लिए । जितसँगै तीन खेलमा २ जित निकाल्दै मलेसिया सेमिफाइनल सम्भावना कायम राखेको छ ।