फुटबलका लागि उर्बर मानिएको झापामा अब क्रिकेट प्रतियोगिता पनि आयोजना हुने भएको छ । झापालाई नेपाली खेलकुदको हबको रुपमा विकास गर्ने उदेश्यले आउँदो बैशाख ३० गतेदेखि काँकडभिट्टामा क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको आयोजना बोस्टन ब्लास्टर्स बिर्तामोडले गर्ने भएको छ ।
बोस्टनले मंगलबार धुलाबारीमा गरेको पत्रकार सम्मेलनमा क्रिकेट प्रतियोगिता बारे जानकारी दिएको छ । जिल्लामै पहिलो पटक झापा सुपर लिग जेएसएल हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । झापाली चारवटा क्लवको सहभागीता रहने प्रतियोगितामा बिर्तामोडको बोस्टन ब्लास्टर्स ससक्त रुपमा मैदानमा उत्रने जनाएको छ ।
प्रतियोगितामा जेएसएलमा बोस्टन ब्लास्टर्सका तर्फबाट नेपाली क्रिकेटर तथा राष्ट्रिय टोली सदस्य करण केसी लगायत खेलाडीले खेल्ने जनाइएको छ । उपाधी जित्ने लक्ष्यका साथ प्रतियोगितामा भाग लिने बोस्टन ब्लास्टर्सले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको जनाएको छ । पत्रकार सम्मेलनमा योजना प्रमुख विशाल अग्रवाल, संयोजक बाप्पा शाह, टिम मेनेजर रुपेश मादेन, टिम कोच बिनित बास्तोला, सोबित बास्तोला, आशिष बन लगायतको उपस्थिति रहेको थियो ।