बीबीसी । झन्डै चार महिना लामो बर्खा याम अबको एक दुई दिनमै नेपाल भित्रने मौसमविद्हरूले बताएका छन्। मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने उनीहरू बताउँछन्। यसपालि मनसुन भनिने यो याममा सामान्यता पर्ने १,५०० मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ। “औसतको १० प्रतिशत तलमाथि भएसम्म हामी सामान्य मनसुन भन्ने गर्छौँ,” जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।
“दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपाललगायत यो क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको छ।”तर कुन स्थानमा कति पानी पर्ला अनि धेरै पानी थोरै समयमा पर्ला कि चार महिनासम्म फैलिएर पर्ला भन्ने जस्ता विषय महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।
“पहाडी भूभागमा पहिरो अनि अन्यत्र बाढीबारे सचेत हुनुपर्छ। निरन्तर झरी पर्ने र अनि केही समय रोकिने मनसुनको विशेषता हो। यो मौसममा खासगरी रातिको समय धेरै झरी पर्ने गर्छ,” उनले भने।
विपद्का तीन खतरा : मौसमविद्हरूले यो सालको मनसुनमा औसतभन्दा बढी पानी पर्ने बताइरहँदा विपद्सम्बन्धी निकायका प्रमुखले यसपालि तीन खतरा आउनसक्ने भन्दै सजग गराएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले औँल्याएका ती तीन खतरा यस्ता छन्:
१. अधिक वर्षाले निम्त्याउने बाढी/पहिरो: हरेक वर्ष बाढी र पहिरोले नेपालमा सयौँको ज्यान जाने गर्छ।”बाढीले हरेक वर्ष एक सय हाराहारी मानिसहरूको ज्यान लिने गरेकोमा पछिल्ला समय त्यसलाई हामीले ५० हाराहारीमा झार्न सकेका छौँ। तर पहिरोले सरदर ४०-५० मानिसको ज्यान लिने गरेकोमा गत वर्ष चाहिँ अभूतपूर्व रूपमा चार सय मानिसको ज्यान लिएको थियो,” पोखरेलले भने। सामान्यभन्दा बढी पानी पर्न सक्ने मौसमविद्हरूको प्रक्षेपणले बाढी पहिरोको चुनौती सिधै बढ्ने खतरा उनले औँल्याए।
२. कोभिड महामारीमाथि थपिन सक्ने रोगव्याधि: कोभिड-१९ को घातक दोस्रो लहरको चपेटाबाट नेपाल अझै उम्किसकेको छैन।महामारीका बेला प्राकृतिक विपद् आउँदा चुनौती दोबर हुने बताइन्छ।”एक त बाढीपहिरोले सडक आवागमन अवरुद्ध भए खोपजस्ता अत्यावश्यक सामग्री ढुवानीमा असर पर्नसक्छ अर्कोतिर बर्खा याम यसै पनि रोगव्याधिको याम मानिन्छ।””झाडापखाला, सर्पदंश र डेंगीजस्ता प्रकोप फैलियो भने जनस्वास्थ्यमा थप अप्ठेरो पर्न सक्छ,” पोखरेलले बताए।
३. डढेलोले नङ्ग्याएका डाँडामा पहिरो जोखिम: यो वर्ष नेपालका अधिकांश भागमा डढेलो लाग्यो।कैयन् दिनसम्म काठमाण्डूलगायत विभिन्न भागमा धूवाँको बाक्लो तुवाँलो फैलिएर वायु प्रदूषण अत्यधिक भएको थियो।”हामीले यति धेरै डढेलो लागेको देखेका थिएनौँ। त्यसको गम्भीर प्रभाव परेको छ। बर्खामा त्यसले जनधनमा अझ प्रभाव पार्न सक्छ,” उनले भने।
धेरै पहाडी क्षेत्रमा विशाल डढेलो लाग्दा त्यहाँका वनजङ्गल नासिएका छन्।”फलस्वरूप कस्तो अवस्था आएको छ भने ती ठाउँमा अब पानी पर्दा रुखबिरुवाले सोस्ने स्थिति छैन। अर्थात् माटोको सोस्ने क्षमता घटेको छ जसले गर्दा पहिरो जाने जोखिम बढेको छ।”पोखरेलका अनुसार प्राधिकरणले यी सबै खतराको विश्लेषण गरेर त्यसैअनुरूप तयारी थालेको छ।
मनसुनको बदलिँदो चरित्र : सामान्यतया नेपालमा मनसुन जुन १० मा भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गर्थ्यो।तर पछिल्ला वर्षहरूमा यसको चरित्र बदलिएको छ।
“हामीले नेपालमा मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ भन्नुपर्छ,” मौसमविद् पौडेलले बताए। उनका अनुसार ३०-३० वर्षमा सरदर वर्षा अवधिका आँकडाहरू तुलना गरेर मनसुन अवधिमा हेरफेर गरिन्छ।
“अहिले सन् २०२० सम्मको तीस वर्षीय अवधिको आँकडाहरू हेरेर यो नयाँ मिति तोकिएको हो।”यसपटक मनसुनभन्दा पहिलेको प्रि-मनसुन भनिने अवधि भने सन्तोषजनक नभएको मौसमविद्हरू बताउँछन्।जाडो याममा पनि खासै पानी नपर्नु अनि लामो समय सुख्खा रहँदा व्यापक स्तरमा डढेलो र वायु प्रदूषण फैलिएको थियो।