बूढानीलकण्ठमा १९ सयले लगाए कोरोना विरुद्धको खोप — OSNepal

बूढानीलकण्ठमा १९ सयले लगाए कोरोना विरुद्धको खोप

LC (KTM) June 10, 2021 0

काठमाडौंँ- बूढानीलकण्ठ नगरपालिकाले एक हजार ९०८ जनालाई कोरोना विरुद्धको खोप लगाएको छ । तिनमा महिला ९९६ र पुरुष ९१२ छन् । चाइनिज भेरोसेल खोप आवश्यक मात्रामा आपूर्ति हुन नसकेपछि बिहीबार हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो

मङ्गलबारदेखि शुरु भएको खोप कार्यक्रममा सो दिन एक हजार ४०९ जनाले लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंँले मागअनुसारको खोप उपलब्ध गराउन नसकेपछि यही जेठ २७ गतेको निर्धारित खोप कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ को बैठकले जेठ २५ देखि २७ गतेसम्म ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा दिइने निर्णय गरेको थियो ।

सोहीअनुरूप बूढानीलकण्ठ नगरपालिकाले तीन केन्द्रबाट सोमबार, मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख दाहालका अनुसार वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं. ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल, मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको खोप केन्द्रबाट दुई दिनमा ९९६ पुरुष र ९१२ महिलालाई खोपको पहिलो मात्रा उपलब्ध गराइएको छ । खोपको आवश्यक कति मात्रा उपलब्ध हुन नसकेको हो भन्नेबारे भने नगरपालिकाले केही प्रष्ट पारेको छैन । यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । आफ्नै देशभित्र फैलिएको महामारीका कारण भारतले यो खोपको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिने समयसीमा घर्किनै लाग्दा पनि अन्योल यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर