शेन वार्नको स्मृतिमा आयोजित नेपाल प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब पुश स्पोर्ट्स दिल्लीसँग पराजित भएको छ । भैरहवाको सिदार्थनगरमा शुक्रबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब पुश बीचको खेल एकदमै रोमान्चक भएको थियो । पुलिस दिल्ली सँग १ रनले पराजित भएको हो ।
१ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ३२ रन बनायो । खेलको १६ औं ओभरमा मात्र ४ विकेट गुमाएर १ सय ४ रन बनेको नेपाल पुलिस थप २७ रन जोड्न ५ विकेट गुमाउनु पुगेको थियो । पुलिसका गुलशन झाले सर्वाधिक ३६ रनको योगदान दिएका थिए । यस्तै पवन सरार्फले ३३, शंकर रानाले ११, दिलिप नाथले १९ र प्रेम तामाङले २० रन बनाएपनि खेल जिताउन सकेनन् ।
पुशका सचिन कुमारले ६ विकेट हात पारे । उनले ४ ओभर बलिङ गर्दै १ मेडन सहित २० रन खर्चेर ६ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुश स्पोर्ट्स दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनको स्कोर खडा गरेको थियो । उसका आदित्य जैनले ३८, मयांक गुप्ताले २३, स्पर्शले १६ र इशान पाण्डेले २१ रन बनाए । नेपाल पुलिसका मन्जित श्रेष्ठले ४, पवनले २ विकेट हात पारे ।