पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन — OSNepal

पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन

LC (KTM) June 09, 2021 0

काठमाडौँ, २६ जेठ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो ।

पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज सम्पन्न ८८ औ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानून अनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिनुभएको छ ।

बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिनुभयो । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिनुभयो । बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तक अभाव हुन नदिन सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिन समेत निर्देशन दिनुभएको छ । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर