आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन : चुनावी सरगर्मी बढ्यो — OSNepal

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन : चुनावी सरगर्मी बढ्यो

LC (KTM) April 07, 2022 0

बाजुरा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगमी बढेको छ । जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन् । पाँच वर्षको नेतृत्व लिनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ स्थानीय तहको पहिलो पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले आठ पालिकासहित जिल्ला समन्वय समितिको नेतृत्व सम्हाल्ने गरी पार्टीको चुनाव प्रचारप्रसार थालेको छ भने २०७४ को स्थानीय निर्वाचनमा तीन पालिकामा हाल दुई पालिकामा नेतृत्व लिएको एमाले पनि आठ पालिकाको नेतृत्व लिने गरी चुनावी रणनीति बनाएर गाउँमा गएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एककिृत समाजवादी) भने पाँच दलीय सरकारमा भएकाले नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने गरी छलफलमा जुटेका छन् । जिल्लाका नौवटै पालिकाका वडामा वडाध्यक्ष र पालिकासम्ममा उपप्रमुखको मागसहित नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्ने योजना बनाइएको छ ।

छ पालिका जितेको नेपाली कांग्रेस पनि स्वामीकार्तिक गाउँपालिका, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकामा कमजोर देखिएको छ । स्वामीकार्तिकमा तत्कालीन एमाले र हाल एकीकृत समाजवादीको सरकार रहेको छ भने अन्य दुई पालिकामा एमालेको सरकार छ ।

चार नगरपालिका र दुई गाउँपालिकासहित जिल्ला समन्वय समितिमा समेत नेपाली कांग्रेसको सरकार रहेको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा कांग्रेसको सरकार छ ।

गएको स्थानीय तहको निर्वाचनमा छ पालिका जितेको नेपाली कांग्रेसले सहमति र सहकार्य गर्दै वडा तथा पालिकामा सहमतिमा उम्मेदवार बनाउने गरी छलफलमा जुटेको नेपाली कांग्रेस बाजुराका पार्टी प्रवक्ता रमाकुमारी रावलले बताउनुभयो ।

नौवटै पालिकाका वडामा वडाध्यक्षसहित दलित महिला गरी पाँच जनाको नाम सिफारिस गर्न र नगर तथा गाउँपालिकाबाट नगर प्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन पालिका सभापतिलाई दिइएको पार्टी प्रवक्ता रावलले जानकारी दिनुभयो ।

वडाध्यक्षदेखि नगर प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका आकांक्षी धेरै भए पनि उनीहरुलाई सहमति गराएर आसन्न स्थानीय तहको निर्वाचनमा जाने गरी पार्टी तयारीमा लागेको प्रवक्ता रावलको भनाइ छ ।

यसैगरी एमालेले पनि वडादेखि पालिकासम्म सहमतिमा सर्वसम्मत नगर वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छनोट गर्न तयारी थालेको एमालेले जनाएको छ । वडादेखि पालिकासम्म उम्मेदवारका आकांक्षी धेरै देखिए पनि उनीहरुबीचको आपसी समझदारीमा सर्वसम्मत वडाध्यक्ष र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष छनोट गरी चुनावी मैदानमा जाने एमालेले तयारी थालेको हो । एमालेले कतिपय स्थानीय तहका वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवार छनोट गरिसकेको एमालेका उपाध्यक्ष भरत बुढाले बताउनुभयो ।

कांग्रेसमा दुई महिलाको प्रमुखमा दाबी

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा दुई जना महिलाले नगर प्रमुखमा दाबी गर्नुभएको छ । सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाको प्रमुखका लागि हालका नगर उपप्रमुख तथा नेपाली कांग्रेस महाधिवेश प्रतिनिधि कविताकुमारी बुढा (विष्ट) र महासमिति सदस्य तथा महिला सङ्घ केन्द्रीय सदस्य जुना दानीले नगर प्रमुखका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेस बडीमालिका नगर कार्यसमितिका सचिव नन्दलाल खड्काले बताउनुभयो ।

नगर प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई महिलाले प्रमुुख पदका लागि उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको उप प्रमुखका लागि छ महिलाले उम्मेदवारी दर्ता गराएको सचिव खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर