काठमाडौं २३ चैत । आगामी स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । उक्त जारी गरिएको आचारसंहिता यदि सबै लागु भए प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट माग्न नपाउने भएका छन् ।
जारी गरिएको आचारसंहितामा भनिएको छ , ‘प्रधानमन्त्री र मन्त्रीहरूले आफु उम्मेदवार भएको अवस्थामा बाहेक अन्य अवस्थामा आफनो दल या कोही कसै उम्मेदवारको पक्षमा भोट माग्न पाउने छैनन् । ‘
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ को दफा ५ को (क) मा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न पाएने छैन ।’
आयोगले तीन दिन भित्र आचारसंहिता लागु गर्ने भनेको छ । यदि यो लागु भएमा देउवाले भोट माग्न पाउने छैनन् । यसैगरी सरकारमा सहभागी माओवादीकी पम्फा भुसाल, अर्थमन्त्री जनार्दनश शर्मा लगायतले गोलाकारभित्रको हसिँया हथौडामा भोट माग्न पाउँने छैनन् ।
आयोगले मंगलबार नै निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा दललाई आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन आयोग बोलाएको थियो । जसमा कांग्रेसका उपसभापति पूर्णवहादुर खड्का हस्ताक्षर गरिहसकेका छन् ।