काठमाडौं २३ चैत । नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ ।
सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंकले वर्तमान अर्थतन्त्रको अवस्थाबारे अध्ययन गर्दै पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सुझाव दिएको हो ।
उक्त सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने उल्लेख गरिएको छ ।
यदि राष्ट्र बैंकको उक्त सुझाव हुबहु कार्यान्वयन भएमा पेट्रोलियम आयातमा आधा भन्दा बढी कटौती हुनेछ जसले गर्दा पेट्रोलियमको चरम अभाव पैदा गर्न सक्ने निगमले जनाएको छ ।
हाल निगमले औसत २ लाख ७८ हजार किलोलिटर पेट्रोलियम खरिद गर्दै आएको छ ।
.