काठमाडौं २२ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यलयले स्थानीय तहका लागि उम्मेदवार सिफारिस गोप्य राख्न निर्देशन दिएको छ । पाँच दलीय गठवन्धन गरेर नै निर्वाचनमा जाने भएपछि केन्द्रले छिट्टो भन्दा छिट्टो उम्मेदवार टुंगो लगाउन भन्दै टेलिफोन गरेको हो ।
अहिलेको आएको उम्मेदवार गोप्य राखी थप सिफारिस भने नगर्न निर्देशन दिएको बताइएको छ । सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले दिएको जानकारी अनुसार केन्द्रबाट अहिले जहाँ बाट जे आएको छ सबै त्यतिकै राख्नु थप केही प्रक्रिया अगाडि नबढाउनु भनेर टेलिफोन आएको बताइएको छ ।
कांग्रेस केन्दीय कार्यलय स्रोतले टिकट सिफारिस गरेपनि टिकट कसले पायो भन्ने कुरा गोप्य राख्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएको बताइएको छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निवार्चनको लागि वैशाख ११ गते सम्म मनोनय गर्ने समय दिएको छ ।
वैशाख १ गते सम्म उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको कांग्रेसको अब तत्काललाई यो प्रक्रियापनि रोक्न भनिएपछि उम्मेदवार टुंगो लगाउन अझै ढिला हुने भएको छ ।
वडाध्यक्ष तथा सदस्यको टिकट प्रतिनिधिसभा क्षेत्रीय समिति,गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला संसदीय समिति, नगरपालिका र उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय समिति र महानगरपालिकाको टिकट केन्द्रीय संसदीय समितिले दिने व्यवस्था कांग्रेसको विधानमा जारी गरिएको छ ।