काठमाडौं २१ चैत । आफुभन्दा जुनियर डीआजीहरुको बढुवा भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी आज सोमबारलाई तोकिएको छ ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा भएको बढुवा सिफारिसको निणर्यविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट तोकिएको छ । सरकारले डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो ।
उनीहरुले दायर गरेको रिटमा कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरिएको छ ।