खजुरामा हिलाम्ये र धुलाम्ये सडक धमाधम कालोपत्र,गाउँपालिकाको मुहार फेरियो — OSNepal

खजुरामा हिलाम्ये र धुलाम्ये सडक धमाधम कालोपत्र,गाउँपालिकाको मुहार फेरियो

LC (KTM) April 03, 2022 0

नेपालगञ्ज-बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधीमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । वर्षाद्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक कालोपत्र, पीसीसी र ग्राभेल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका सडक करिव ८० किलोमिटर कालोपत्र, पीसीसी र १८० किलोमिटर ग्राभेल गर्ने कार्यसँगै खजुरा गाउँपालिकाको मुहार फेरिन थालेको छ ।

गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नती गर्ने काम तीव्ररुपमा भइरहेकाले हिलाम्ये र धुलाम्ये हुने गाउँपालिकाका सबैवडामा अहिले धमाधम सडक र कयाँै मिटर नाली निर्माण कार्य भइरहेको छ । निर्वाचनको बेला जनतासँग गरेको प्रतिवद्धता अनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने काम सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले जनताको चाहना, आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य, सहायक सडक नाला पुनःर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । गाउँपालिकावासीले सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घरलगायतका संरचनालाई तोडेर सडक निर्माणको काममा सहयोग गरेपछि काम गर्न सहज भएको उहाँले जानकारी दिनुभयो ।

हामीले यस बाहेक धेरै क्षेत्रमा काम गरेर सफलता हासिल गरेका छौँ उहाँले भन्नुभयो । खजुरा बजार क्षेत्रमा करिव दुई किलोमिटर चार लेन सडक निर्माणकार्य शुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको छ । यो काम जारी रहेकाले यो महिनाभित्र सकिने छ ।

अहिले खजुरा गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नती कार्य भइरहेको खजुरा गाउँपालिका–४ नं. वडाका वडाध्यक्ष तिलकवीर सुनारले बताउनुभयो । उहाँले अव खजुरा गाउँपालिकामा हिलो र धुलोको समस्या समाधान हुने क्रममा रहेको दावी गर्नुभयो ।

गाउँपालिकाले अघिसारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकोले गाउँपालिकामा विकासको प्रभाव देखिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले उल्लेख गर्नुभयो । उहाँले अव वर्षामा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दावी गर्नुभयो । खजुरा गाउँपालिकामा भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य र खानेपानी तथा सरसफाइका क्षेत्रसमेतमा प्रभावकारीरुपमा काम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर