पोखरा, १९ चैत- २०७२ सालको महाविनाशकारी भुकम्पको केन्द्र गोरखा थिलथिलो भयो । स्कुल र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरू समेत खण्डहर बने ।
भुकम्पबाट धार्चे र बारपाक क्षेत्र सबैभन्दा बढी प्रभावित भए । लामो समय स्कुलनै खुलेनन् । बिस्तारै चउरमा बालबालिका राखेर पढाई हुन थाल्यो । चउरमै बसिरहेका विद्यार्थीको पीडा देख्न नसकेर टीम रुविकन (बेलायती सेनाबाट अवकास प्राप्तहरूको संस्था) ले धार्चे गाउँपालिकास्थित लापूबेँशीको प्रभात किरण माविको भवन बनाइदिने निधो ग¥यो । भुकम्प गएको केही समयमै स्कुल बन्ने भएपछि गाउँलेहरू खुशी भए । विदेशीहरू आएर धमाधम काम गर्न थाले । केही समयपछि नौ जनाको टोली पनि थपियो, विदेशी नै ।
गाउँलेहरूले ठाने उनीहरूपनि स्वंसेवक होलान । सँगसँगै माटो बोके, गारो लगाए । केही दिनपछि हल्ला चल्न थाल्यो, बेलायती तत्कालिन राजकुमार गोरखाको विकट गाउँमा स्कुल बनाउन गए । समाचार सुनेपछि गाउँलेहरू मुखामुख गर्न थाले । अलि दिन बितेपछि थाहा भयो, आफैसँग ढुंगामाटो बोकिरहेका व्यक्ति बेलायती राजकुमार रहेछन् । ‘निकै साधारण मान्छे । सबैसँग मिल्ने, दुःखमा पनि रमाउने,’ स्थानीय हसिमान गुरुङ भन्छन्, ‘चिनजान नहुँदा त को गोरा आएर काम गरिरहेको छ भनेर वास्तै गरिएन । थाहा भएपछि आफैलाई कस्तो कस्तो लाग्यो ।’
सुरुमा आउँदा ह्यारीबारे कसैलाई थाहा थिएन । पहिले पनि कहिलेकाहीँ पर्यटकहरू आएर काम गरिरहन्थे । कसैलाई चासै भएन । ‘हामीलाई पनि जानकारी थिएन । मिडियामा समाचार आएपछि त हामी छक्क प¥यौं,’ सोही विद्यालयमा पढाउने शिक्षक श्यामबहादुर नेपालीले भने, ‘मान्छेले नचिन्दासम्म फोटो खिच्ने र सँगै खाने गर्थे । पछि फोटो खिच्न पनि दिएनन् । फोटो खिचे कानुनी कारबाही गर्छु भने ।’ ह्यारीले एक साताभन्दा बढी लापूबेँशीमा बिताए । सुटुक्क त्यहाँ पुगेर आफै श्रमदान गरेका उनले स्कुल बनाउन लाग्ने सबै खर्च आफू र टीम रुविकन नामक संस्थामार्फत जुटाइदिए ।
३५ लाख लागतमा त्यहाँ १२ कोठे अस्थायी भवन बन्यो । तत्कालको आवश्यक्ता पूरा गर्न बनेको भवन अहिले जीर्ण भइसकेको छ । भवन बनाएर फर्किएका ह्यारीले अहिलेसम्म स्कुल सम्झिएनन् । ‘यहाँबाट गएपछि कोही आएका छैनन् । टीम रुविकनकै दुई जना आए, उद्घाटनको बेलामा । ह्यारीले चाहीँ कन्ट्याक्ट गरेका छैनन्,’ नेपालीले भने, ‘स्कुल जीर्ण भयो । नयाँ बनाउन सकिएको छैन । सहयोग माग्न जाँदा कसैले वास्ता गर्दैनन् ।’
बेलायती तत्कालिन राजकुमारले बनाइदिएको भनेर कसैले पनि स्कुल स्तरोन्नतीमा हात हाल्न मानेका छैनन् । स्कुलका शिक्षक शिवराज खनाल ह्यारीकै कारण सहयोगी नपाएको हुनसक्ने अनुमान गर्छन । ‘कसैसँग सहयोग माग्दा ह्यारीले बनाईदिएको स्कुलमा सहयोग गर्नुपर्छ र ? भन्छन् । हामीले त्यहाँ किन हात हाल्ने भनेर ठाडो शब्द बोल्छन्,’ उनले भने, ‘भुकम्प जाँदा सुरुमा त राम्रो भयो । अहिले अन्त राम्रो भवन बन्यो । हाम्रो स्कुल जीर्ण छ ।’ भवन मात्रै होइन, त्यहाँको शिक्षाको अवस्था समेत नाजुक छ । शिक्षकको तलब जुटाउन अप्ठ्यारो भएको छ भने विद्यार्थीलाई आकर्षण गर्नेगरी पढाई हुन सकेको छैन ।
‘छिमेकका सबै स्कुल भवन भव्य बनेका छन् । सिंहदरबार जस्ता भवन छन्,’ उनी भन्छन्, ‘यो स्कुलमा ठूलो पानी प¥यो भने भित्रै चुहिन थाल्छ । घाम चर्कियो भने पसिनाले पढाउन सकिँदैन ।’ लापुगाउँमा शिक्षा कार्यालयबाट दुई कोठे र एनजिओले भव्य स्कुल बनाइदियो । गंगाजमुना आधारभुत स्कुल भिरकुनामा शिक्षा कार्यालयले नै पक्की भवन बनाईदिएको छ । छिमेकका सबै स्कुलको भव्य भवन हुँदा लापुबेँशीका विद्यार्थी र शिक्षक भने हेरेरै चित्त बुझाउन बाध्य छन् ।
स्कुलमा १५ जना शिक्षक छन् । अधिकांश शिक्षकलाई गाउँलेले मासिक चन्दा उठाएर पाल्छन् । ह्यारी बेलायत गएपछि राजसंस्थाबाट अलग हुने निर्णयले त्यहाँका स्थानीय र शिक्षकहरू झनै निराश भए । गाउँलेले आफ्नो गाउँको सम्झना गराईराख्न डाँडै उपहार दिए । तर, ह्यारीले गाउँ सम्झिएनन् । उनको नाममा स्थानीय डम्फूडाँडालाई ह्यारी हिल नामाकरण गरिएको छ । ह्यारीले सहयोग थप्नु त परको कुरा उनकै कारण संघ संस्था र सरकारबाट आउने अनुदान र पाउने सहयोग पनि पाउन छोडे । स्कुलका शिक्षक पाल्न प्रत्येक घरले एक सय ५० रुपैयाँ मासिक उठाउँछन् ।
‘मावि सन्चालन गर्ने बेलामै मासिक सहयोग गर्ने भनेर स्थानीयले बचन दिए । पहिले ५ सय उठाईन्थ्यो, अहिले डेढ सय मात्रै उठाउछौं,’ लेखापाल विनिता गुरुङ भन्छिन्, ‘बोलेको पैसा खुरुखुरु तिर्नुहुन्छ ।’ स्कुल चलाउने अरु श्रोत नभएको उनले बताईन् । अघिल्लो वर्षदेखि गाउँपालिकाले ३ वटा शिक्षकको कोटामा अनुदान दिएको छ ।