काठमाडौं, १९ चैत – त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा सनिवार मलेसियालाई नेपालले जितका लागि २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानम टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२३ रन बनाएको हो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक ११० रनमा अविजित रहे । दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए ।
दीपेन्द्र नेपालबाट टी–२०मा शतक प्रहार गर्ने चौथो खेलाडी बने । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।
रोहित पौडेलले ५१ रन बनाए । उनले ३२ बलमा टी–२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।
मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।
नेपाल यसअघिनै फाइनल पुगिसकेको छ । आज मलेसियाको जित निस्किए स्वतः फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा पीएनजी फाइनल पुग्नेछ ।