आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेपाली कांग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा कांग्रेसले सबै पालिकामा घरदैलो अभियानलाई तीव्रता दिएको हो ।
नेपाली कांग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट पार्टी प्रशिक्षण लगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटकको माहोल आफ्ना पक्षमा रहेको दाबी गरिरहेको छ ।
रसुवाबाट प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य यस पटक पाँचवटै गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गर्ने बताउनुहुन्छ । उहाँले समृद्ध रसुवा निर्माणका लागि आगामी निर्वाचनमा रसुवाली नागरिकले यस पटक कांग्रेस नै रोज्ने उहाँको धारणा छ । हाल कांग्रेसले नेतृत्व गरिरहेका गाउँपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले पनि समृद्ध रसुवाका निर्माणका लागि कांग्रेसकै नेतृत्व आवश्यक रहेको पुष्टि गरेकाले पनि आसन्न स्थानीय तह निर्वाचनमा यहाँका सबै पालिकामा कांग्रेस विजयी हुने उहाँले बताउनुभयो ।
पाँच स्थानीय तह भएको रसुवामा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले दुई, नेकपा (एमाले) ले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टीको रसुवा जिल्ला कार्यसमिति सहितको पार्टी यसअघि नै नेपाली कांग्रेसमा विलय भइसकेको छ । रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।
–––