बालिका मृत्यु प्रकरण : अवस्थालाई शान्तिपूर्णरूपमा समाधान गर्न गृहमन्त्रीको निर्देशन — OSNepal

बालिका मृत्यु प्रकरण : अवस्थालाई शान्तिपूर्णरूपमा समाधान गर्न गृहमन्त्रीको निर्देशन

LC (KTM) March 31, 2022 0

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले सर्लाही जिल्लाको बागमती नगरपालिका–७ निमिचोकमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई शान्तिपूर्णरूपमा समाधान गर्न निर्देशन दिनुभएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई आज टेलिफोन गरी परिस्थितिलाई बल प्रयोग नगरी शान्तिपूर्णरूपमा समाधान गर्न निर्देशन दिनुभएको हो । स्कुले बालिकाको क्रेनको ठक्करबाट मृत्यु भएपछि त्यहाँ असामान्य अवस्था सिर्जना भएको थियो ।

मन्त्री खाँणको निर्देशनअनुसार नै सबै पक्षसँग वार्ता र छलफल गरेर समस्याको निराकरण गर्ने प्रयास गरिरहेको प्रजिअ गौतमले जानकारी दिनुभयो । आज मध्याह्न बागमती नपा–७ निमिचोकको भित्री सडकखण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको क्रेनले साइकललाई ठक्कर दिँदा साइकलयात्री १७ वर्षीय सुमित्रा परियारको घटनास्थलमा नै मृत्यु भएको थियो ।

बालिकाको मृत्यु भएपछि घटनास्थलमा भेला भएका मृतकका आफन्त, स्थानीय बासिन्दा र स्कुले विद्यार्थीले ठक्कर दिने क्रेन जलाइदिएका थिए भने र सडक अवरुद्ध गरिएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन र सडक खुलाउन छ राउण्ड अश्रुग्यास फायर गरेको छ । प्रजिअ गौतमले क्रेन चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर