काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । गैरआवासीय नेपाली सङ्घको १०औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले स्वदेश मै उत्पादित विद्युत् सबै नेपालीहरूको घरघरमा पु¥याएर खपत बढाएमा मात्रै पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताउनुभयो ।
उहाँले आयात र निर्यातमा सन्तुलन नभएको र व्यापार घाटा बढ्दो रहेको पनि बताउनुभयो । विद्युत् उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै व्यापार घाटा कम गर्न सकिने उहाँको धारणा थियो । उहाँले नेपालको संविधान २०७२ राजनीतिक दलबीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने जानकारी गराउँदै संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकतालगायत सहुलियत दिन सकिने र त्यस विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो ।
नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतीक्षामा रहेको बताउनुभयो । संविधानमा व्यवस्था भएअनुरूप कानून बनाएर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारले पहल गर्ने गृहमन्त्री खाँणको भनाइ थियो । उहाँले गैरआवासीय नेपालीलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको बताउनुभयो ।
भेटमा गृहमन्त्री खाँणलाई एनआरएनएका तर्फबाट पाँच बुँदे मागपत्र बुझाइएको थियो । मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनुपर्ने, जन्मस्थान नेपाल लेखेका राहदानीवाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ । भेटमा नवनिर्वाचित अध्यक्षद्वय कुल आचार्य र डा बद्री केसीले मागबारे आफ्ना धारणा राख्नुभएको थियो ।