ताप्लेजुङ, १५ चैत – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरीका छनौट सुरु भएको छ । आजदेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा छनौट कार्य सुरु गरेको हो ।
ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर १ हजार ६०२ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका छन् । यो माग संख्याको अढाई गुणा बढी हो । शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटप र बुसप लगायतका स्वास्थ्य प्रारम्भिक स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बुधवार आठ सय जनाको छनौट परीक्षण हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारलाई शुक्रबार लिखित परीक्षा हुने छ । आइतबार लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने छ । सोमबार छनौट सफल भएका उम्मेदवारको अन्तिम नतिजा प्रकाशन हुने जिल्ला प्रहरी कार्यालयले जनाको छ ।
छनौट भएका उम्मेदवारहरूलाई चैत २८ गते प्रशिक्षण हुने छ । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ ।
निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ उपलब्ध हुने छ । बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।