दमक, १५ चैत-मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङका लागि अफिज ओलावलेले खेलको २९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र साविक विजेता नेपाल पुलिस क्लबबीच खेल हुने संयोजक मोहन मगरले जानकारी दिनुभयो । बुधबार विजयी टोली फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही रु २१ हजार पुरस्कार प्राप्त गर्ने छन् । (रासस)