साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झापाबीच जित्ने टिमसँगै प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा निर्धारित समयसम्म गोलरहित खेल बराबरीमा टुंगिदा खेलको निर्णाय सडन डेथबाट लिइएको थियो । सडन डेथमा साइनोका अशोक खवास, कैलाश बस्नेत, दिवाकर चौधरी, निशेन सुब्बा, मिन धिमाल, खमिर गिल्सन, दिनेश राई, भुवन बस्नेत र एन्जल श्रेष्ठले गोल गरेका थिए । निशान लिम्बुको प्रहार पोसमा ठोकिएर बाहिरयो ।
धरानका दोर्जे तामाङ्ग सुशिल राई, दिवस सुनवार, मनोज राई, जिवन गुरूङ, मनिष थापा, तपन कार्की र उमेश राईले गोल गरे । मिलन राई र सन्जित राईको प्रहार साइनोका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । धरानका दुई जना खेलाडीको सशक्त प्रहार उत्कृष्ट बचाउ गरि टिमलाई फाइनल यात्रा सुरिक्षत गराउने साइनका गोलकिपर एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । निर्धारित समयमा दुवै दुवै टिम आक्रमक खेल पस्किए पनि दुवै टोलीले गोल गर्न असफल रहे । दुवै टिमले थुप्रै गोल गर्ने अवसर खेर फालेका थिए ।