महोत्तरी, १५ चैत – बर्दिवास–२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारीमा जाँदा तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा हासीखुशी कतार गएका थिए ।
कतार पुग्दा यहाँ भने जस्तो काम नभए पनि तलब राम्रै भएकाले उनी खुसी नै थिए । छोराले राम्रैसँग काम गरिरहेकोमा परिवार खुशी नहुने कुरै भएन । तर, यो खुशी धेरै दिन टिकेन । श्रेष्ठ र उनको साथीबीच विवाद हँुदा ठूलै रुप लियोण् । झगडा मुक्का हानाहान हुँदै चिर्पट प्रहारसम्मै पुग्यो । साथीले प्रहार गरेको चिर्पट श्रेष्ठको टाउकामा बजारियो । जसले उनको आँखाको रेटिनानै गुम्यो ।
काम गरेर परिवारलाई खुशी दिने उनको सपना आँखै नदेख्ने भएपछि चकनाचुर बन्यो । यसपछि श्रेष्ठको संघर्ष झनै काहालिलाग्दो बन्यो । दुवै आँखा गुमाएर श्रेष्ठ करिब डेढ बर्षपछि स्वदेश फर्किए । उनकै भरोसामा बाँचिरहेका बुबाआमा, श्रीमती झनै भावविहल बने । तर, श्रेष्ठले परिवारमा दिएको भरोसाले परिवारको पीडा केही हदसम्म कम भयो ।
कठिन संघर्षपछि श्रेष्ठले पाएको सफलताले उनी आँखा देख्दिन भन्ने नै बिर्सने गरेको बताउँछन् । श्रेष्ठले स्वदेश फर्केपछि मैनबत्ती, मुढा, साबुन बनाउने, फिनेल, हार्पिक र अगरबत्ती बनाउने तालिम लिए । यसले उनलाई आर्थिक रुपमा मात्रै बलियो बनाएन आत्मविश्वासी पनि बनायो ।
‘त्यसपछि म जस्तै अपाङ्ग भएर हिनताले बाँचिरहेका दृष्टिविहीनलाई मैले त्यसपछि खोज्न थाले ।’ उनले भने । श्रेष्ठले आफू जस्तै दुर्घटना वा जन्मजात आँखा गुमाएकाहरूको सुचि तयार गर्दै गए । महोत्तरीमा मात्र पाँच सय जनाभन्दा बढी दृष्टिविहीनहरूलाई प्रत्यक्ष भेटेर अनुभव सुनाए ।
नेत्रहिन संघ महोत्तरीको गठनपछि श्रेष्ठलाई दृष्टिविहीनहरूसँग थप काउन्सिलिङ गर्न सहयोग मिल्यो । अहिले संघमा तीन सय ५० भन्दा बढी दृष्टिविहीनन जोडिएका छन् । श्रेष्ठ अहिले उक्त संस्थाका संयोजक पनि हुन् । जिल्लाका धेरैजसो दृष्टिविहीनहरू स्वरोजगार बनेका छन् भने कतिपयले लोकसेवा आयोगवाट सरकारी सेवामा प्रवेश गरेका छन् ।
लोकसेवा आयोग पास गरेर अहिले जिल्लाका करिब १० जना दृष्टिविहीन सरकारी सेवामा कार्यरत छन् भने सयाैं जना मैनबत्ती, अगरबत्ती, साबुन बनाएर स्वरोजगार बनिरहेका छन् ।
श्रेष्ठ आफै पनि दिनभरी बजार चहार्छन् । आफैले बनाएको अगरबत्ती, मैनबत्ती, साबुन बोकेर बेच्छन् । यसैबाट श्रेष्ठलाई आर्थिक उपार्जन गरेर परिवारको छोरा हुनुको भरोसालाई टुट्न दिएका छैनन् ।
‘अहिले उनकै पहलमा नेत्रहिनहरूको लागि भवन निर्माण प्रक्रिया अघि बढेको छ । बर्दिवास नगरपालिकाले यसका लागि १५ लाख रुपैयाँ दिएको छ ।’ श्रेष्ठले भने ।
जिल्लाका दृष्टिविहीहरूले श्रेष्ठले नेतृत्व गरेको संस्थाकै माध्यमबाट विभिन्न सिपमुलक तालिम लिएका छन् । सोही तालिमको माध्यमबाट अहिले उनीहरू बजारमा आफैले उत्पादन गरेका वस्तुहरू बेच्ने गर्छन् ।
श्रेष्ठको एक छोरा छन् । १४ वर्षीय उनका छोरा बर्दिवासमै रहेको ग्लोबल एकेडेमीमा कक्षा १० मा अध्ययनरत छन् । उनकी श्रीमती पनि काम गर्छिन् । ‘ दैनिक पाँच सयदेखि हजार रुपैयाँसम्म मेरो आम्दानी हुन्छ ।’ उनले भने ।
श्रेष्ठको अवस्था देखेर विद्यालयले छोरालाई कक्षा ५ सम्म निःशुल्क गरिदियो । तर, त्यसपछि भने श्रेष्ठले छोराको मासिक शुल्क पनि तिर्दै आएका छन् । ‘निःशुल्क नै गरिदिएको भए त राम्रो हुन्थ्यो गरेनन् नभए पनि ठिकै छ ।’ उनी भन्छन् ।
अहिले श्रेष्ठको सारथि वीरेन्द्र महतो बनेका छन् । उनी पनि आँखा देख्दैनन् । तर, शिक्षक सेवा आयोगबाट नाम निकालेर जिल्लाको रामगोपालपुर नगरपालिकामा शिक्षण गर्छन ।
अपांगता भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोणबाट भने श्रेष्ठ निकै चिन्तित छन् । उनी भन्छन्,‘ निक्कै तल्लोस्तरको हेराइ हुन्छ । हामीलाई थप उर्जा दिएर आत्मबल बढाउनुपर्नेमा दयाभावले हेर्छन ।’ उनले भने ।
स्थानीय सरकार तथा संघीय सरकारले जीवनयापनको लागि माध्यम खोजिदिनुपर्ने उनको माग छ । ‘हामी काम गर्न सक्छाँै सपाङ्गको जत्तिकै हामीलाई प्लेटफर्म दिइयोस् ।’ उनले भने ।