आमाबुबा गुमाएका ५४ टुहुरा बालबालिकालाई आर्थिक सहयोग — OSNepal

आमाबुबा गुमाएका ५४ टुहुरा बालबालिकालाई आर्थिक सहयोग

LC (KTM) March 29, 2022 0

दार्चुला, १५ चैत-नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । आमाबुबा गुमाएका ५४ बालबालिकालाई रु १० हजारका दरले सहयोग उपलब्ध गराइएको हो ।टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणसम्बन्धी कार्यविधि २०७८ निर्माण गरी सहयोग रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

टुहुरा बालबालिकाको गाँस, बास र कपासका साथै आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कानुनी जटिलताका कारण यो कार्यक्रम अघि बढाउन तीन वर्ष ढिलो भयो । कार्यविधि निर्माण भइसकेकाले अब यो कार्यक्रम निरन्तर चालु रहने छ ।” चालु आर्थिक वर्षमा कार्यक्रम शुभारम्भ गरिएको र आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्रको सुरुमै मासिकरुपमा अभिभावकका बैंक खातामार्फत रकम भुक्तानी गर्ने तयारी गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर