बूढानीलकण्ठका १,४०९ जनाले लगाए भेरोसेल खोप — OSNepal

बूढानीलकण्ठका १,४०९ जनाले लगाए भेरोसेल खोप

LC (KTM) June 08, 2021 0

काठमाडौं, जेठ २५- बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१ पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल मण्डिखाटार र वडा नं १० कपनस्थित बालउद्धार माध्यमिक विद्यालयलाई नगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप बुधबार र बिहीबार पनि लगाइने कार्यक्रम छ । यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । भारतले कोभिशिल्डको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिनेबारे अन्योल छ ।

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म यहाँका दुई हजार २८४ जनामा कोरोना पुष्टि भइसकेको छ । ामज मात्रै कोरोनाका ६३ नयाँ केस भेटिएका छन् । यद्यपि संक्रमितमध्ये एक हजार ८३७ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । अब नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४२८ छ । तीमध्ये ३९० जना होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ । कोरोनाबाट नगरपालिकामा हालसम्म १९ जनाको मृत्यु भइसकेको वडा नं १० का वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार ज्यान गुमाउनेमा आठ महिला र ११ पुरुष छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर