काठमाडौं, १३ चैत – प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ ।
विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ ।
पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् ।
प्रदेश संसद्मा रहेकामध्ये अधिकांश सांसद किरातसँग सगरमाथा र कोसी जोड्नुपर्ने पक्षमा छन् ।