काठमाडौं ११ चैत । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन गर्ने बताएका छन् ।
नेपाली कांग्रेस चुनावी तालमेलमा सहभागी नभएर आफ्नो पार्टी माओवादी र जसपासँग गठवन्धन गर्ने भएको खतिवडाले बताएका हुन् । जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका खतिवडाले यस्तो प्रतिक्रिया दएका हुन् ।
कांग्रेस गठबन्धनको विपक्षमा रहेको पनि भन्न नसकिने अवस्था रहेको बताएका उनले केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया बढ्ने जानकारी गराएका छन् ।
षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि वर्तमान समयमा गठवन्धन आवश्यक भएको बताएका उनले भने, राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौं । अहिले पनि प्रतिगठमनकारीहरू षड्यन्त्र गरिरहेको छ ।
साथै, पत्रकार सम्मेलनमा खतिवडाले यदि राष्ट्रहितविपरीत काम गर्न थालियो भने व्याख्यात्मक टिप्पणी पल्टाएर एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गर्ने दावी समेत गरेका छन् ।