भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले कुनै जित निकाल्न सकेन । नेपाल जित बिहीन घर फर्कने छ । जमसेदपुरमा भएको खेलमा बंगलादेशसँग २-१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो ।बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् ।नेपालका अमिशा कार्कीले एक गोल फर्काएकी थिईन् ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित भएको हो । खेलको चौंथो मिनेटमा अमिशाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, ६८ औं मिनेटमा शामसुन्नाहरले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८४ औं मिनेटमा शाहदाले गोल गरेपछि बंगलादेश २-१ले विजयी भयो ।
यस हारसँगै नेपालले ४ खेलमा अंक जोड्न सकेन । र, नेपाल जित विहीन बन्दै बाहिरिएको छ । बंगलादेशले भने ३ खेलमा ६ अंक जोडेको छ । अब बंगलादेशले अन्तिम खेलमा भारतको सामना गर्नेछ ।